‘दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई सरकारले तत्काल राहत दिनुपर्छ’ : नाजिर हुसेन
सरकारले पुरा देशनै लकडाउन गरेको छ । मानिसहरु घरमै बसेर विभिन्न क्रियाकालापमा सहभागी भैरहेका छन् ।
अभिनेता नाजिर हुसेन घरमै जिम गर्ने र तौल बढाउने गरिरहेका छन् । उनि नेटफ्लिक्सका फिल्म र वेब सीरिजहरु पनि हेरिरहेका हुन्छन् र दुई वटा फिल्मको स्क्रिप्ट पनि पढीरहेका छन् ।
८ वर्ष कोठामा एक्लै बसेकोले आफुलाई खासै गार्हो नहुने उनले बताए । अघिल्लो २ महिनामा उनले ११ वटा कबिताका पुस्तकहरु पढी सिध्याएका थिए भने जन्म दिनको दिन उपहार स्वरुप पाएका हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ ब्रजेशको ‘साइडहिरो’, आनी छोंइङ डोल्माको ‘फुलको आँखामा’, वियस राईको ‘हिउँमाझी’ लगायतका पुस्तकहरु पढ्ने योजना बनाइरहेका छन् । त्यस्तै भर्खरै लेखिसिध्याएका दुई नाटकमा पनि उनि ब्यस्त हुनेछन् ।
आफुलाई देश विदेशमा रहेका फ्यानहरुले उनका म्युजिक भिडियोहरु हेर्न भ्याउने तर फिल्महरु हेर्नको लागि समय निकाल्न नसकेको कुराहरु गर्ने गरेको उनले सुनाए । उनले अहिले लकडाउनको समय फिल्महरु हेर्ने उपयुक्त समय भएको भन्दै देश विदेशमा रहेका ति दर्शकहरुलाई नेपाली फिल्महरुलाई प्राथमिकतामा राखेर हेर्न अनुरोध गरेका छन् । उनले महामारीको बेला धेरै समाचारहरुमा ध्यान दिंदा त्यसले भ्रमित पार्न सक्ने र मानसिक रुपले पनि असर गर्न सक्ने भएकोले समाचारहरुको लागि दिनको थोरै समय मात्र छुट्टाएर बाँकी समय फिल्म हेर्ने जस्ता कामहरुमा लगाउन आग्रह गरे । उनले युट्युबमा भएका आफ्ना फिल्महरु ‘होस्टेल रिटर्न्स’, ‘गाँठो’ र ‘बिरबिक्रम -२’ हेरिदिन अनुरोध गरे । उनले हिन्दि र अन्य भाषाका फिल्महरु त अरु समयमा पनि हेर्न सकिन्छ भन्दै यो समयमा विदेशमा रहेकाहरुले पनि आफ्ना सन्तानहरुलाई नेपाली फिल्महरु देखाएर नेपाली संस्कृतिको ज्ञान दिन अनुरोध गरे ।
लकडाउनको समयमा सम्बन्धित कर्मचारीहरु आउन नसक्ने परिस्थिति सिर्जना हुनसक्ने भन्दै उनले हामीहरुले फोहोरमैला व्यवस्थापनमा बिशेष ध्यान दिनु पर्ने बताए । उनले यस्तो बेला दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुलाई गुजारा चलाउन अत्यन्त गार्हो हुने हुनाले सरकारले उनीहरुलाई लक्षित गरेर तत्काल राहत वितरण गर्नुपर्ने बताए ।
उनले अहिले तत्कालको लागि एक हप्ताको लकडाउन भए पनि यो धेरै लम्बिएर महिनौ पनि हुन भएकोले हामीहरु शारीरिक रुपले मात्र नभएर मानसिक रुपले पनि बलियो र तयार हुनुपर्ने बताए । उनि थप्छन् – ‘लकडाउन धेरै लम्बिन सक्ने भएकोले हामीले आफुलाई रुचि भएको कामको पहिचान गरेर धेरै भन्दा धेरै समय त्यसमै बिताउन आबश्यक छ, त्यस्तो गर्न नसकेको खण्डमा केहि दिनमै अल्छी लाग्ने र धैर्यता गुमाउने सम्भावना हुन्छ’ । उनका अनुसार यो संकटको समयलाई सिर्जनात्मक र मनलाई शान्त राख्ने कामहरु गरेर एक अवसरको रुपमा लिनु नै बुद्धिमानी हुनेछ ।
प्रतिक्रिया