लोक कलाकारको लकडाउन – ‘खाना पकाउदै, नृत्य गर्दै’
कोभिड १९ विश्वभर महामारीको रुपमा फैलिँइरहँदा नेपालमा कलाकारहरुलाई पनि प्रभाव पारेको छ । सरकारले देशभर ‘लक डाउन’ को घोषणा गरेसंगै उनीहरु पनि कोरोना भाइरसबाट बच्न आ-आफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । घरमा दिन कटाउन कोही परिवारलाई भान्सामा सघाइरहेका छन् भने कोही आफूलाई मन परेको पुस्तक पढेर रमाइरहेका छन् । साथै कोही भने आफ्नो आउँदै गरेको परीक्षाको तयारी पनि गरिरहेका छन् ।
बद्रि पंगेनी, गायक
गायक बद्रि पंगेनी काठमाडौँमा परिवारसंगै समय बिताउदै छन् । उनले आफुसंग नेपाली लोककथाको पुस्तकहरु रहेको र यो समयमा त्यहि पढ्ने योजना बनाएको बताए, साथै उनले पुराना नेपाली फिल्महरु पनि हेर्ने योजना बनाएका छन् । सरकारले संक्रमण फैलिन नदिनको लागि लकडाउन घोषणा गरेकोले आफु घरमै बसेको तर बाहिर निस्केर अन्य मानिसहरुलाई सहयोग हुने केहि काम गर्नुपर्ने भएमा आफु त्यसको लागि हरदम तयार रहेको उनले बताए ।
अन्जली अधिकारी, अभिनेत्री
अन्जलीले यो समयमा परिवार संगै बस्ने, पुस्तक पढ्ने, नृत्य गर्ने र फिल्महरु हेर्ने बताईन् । उनले पढ्नको लागि अमर न्यौपानेको ‘गुलाबी उमेर’ र झमक घिमिरेको ‘जीवन काँडा कि फुल’ किनेर ल्याएकी छिन् । उनलाई प्राय खान पकाउन अल्छी लाग्छ तर बुबालाइ पकाउन सघाउने सोचमा छिन् । साथै खाने कुराको सन्तुलन मिलाउने र ब्यायामको लागि पनि समय छुट्टाएको छिन् ।
प्रिती आले, गायिका
गायिका प्रिती आलेले कुकिङ्गमा आफ्नो निकै रुचि रहेकोले यो समयलाई घरमा विभिन्न परिकारहरु बनाएर परिवार संगै बिताईरहेकी छिन् । उनले नयाँ नयाँ परिकारहरु पनि बनाउन सिक्दै छिन् । पुस्तकहरु पढ्ने शौख पहिल्यै देखि भए पनि यतिबेला घरमा धेरैजना हुन् भएकोले शान्त माहोल नभएर पुस्तक तिर त्यति ध्यान दिएकी छैनन् ।
दिपाशा बिसी, अभिनेत्री
दिपाशाले लकडाउनको समयमा मोबाइल फोन चलाएर बस्ने, किताबहरु पढ्ने, नृत्य गर्ने, खान बनाउने र परिवारलाइ समय दिने बताईन् । उनले घरमै आफुलाई मन पर्ने आलु चप, सागको पकौडा, मोमो, आलु परौठा जस्ता परिकारहरु बनाउने बताईन् । यसका अलावा उनले युट्युबमा फिल्महरु हेर्नेछिन् र घाम पनि ताप्ने छिन् ।
शंकर बिसी, निर्देशक/अभिनेता
शंकर बिसीले घर परिवारलाई पुरा समय दिने बताए । उनि भन्छन् – ‘पहिला सासु र सालीले खान बनाएर खुवाउनुहुन्थ्यो अब अहिले आफै बनाएर खुवाउछु’ । पढ्नको लागि भनेर उनले जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ र बिनोद चौधरीको आत्मकथा पनि घर ल्याएका छन् । यहि खाली समयमा उनले पहिले सम्पर्क बिहिन भएका साथीहरुलाई फोन पनि गर्नेछन् । उनले दैनिक केहि समय एक्सरसाइजलाई पनि दिदै छन् साथै अरुलाई पनि एक्सरसाइज गर्ने सल्लाह दिएका छन् । उनले घरमा नयाँ स्पिकर किनेर ल्याएको र अब मज्जाले डान्स पनि गर्ने बताए ।
रुबिना अधिकारी, कलाकार
रुबिना बैसाखमा हुने पब्लिक हेल्थको परीक्षाको तयारी गरिरहेकी छिन् । उनले पढ्नक लागि नारायण वाग्लेको ‘पल्पसा क्याफे’ र सन्जिब उप्रेतीको ‘घनचक्कर’ किनेकी छिन् । उनलाई फिल्म हेर्न भने झ्याउ लाग्छ बरु त्यसको सट्टा युट्युबमा पेपर क्र्य्याफ्ट का भिडियोहरु हेर्दै आफुले पनि बनाउने गर्छिन् । उनि आफु पब्लिक हेल्थको बिद्यार्थी भएको कारणले आफुले जानेका कुराहरु फोन मार्फत साथीहरुलाई पनि सिकाउछिन् । नेपालगंज घर भएकी रुबिना आफ्नो ख्याल आफै गर्न सक्ने भएकोले घर नगई काठमाडौँमै बसेकी छिन् ।
प्रतिक्रिया