‘सुर साधना’ अठारौँ सस्करणमा डेनी निरौला

सांस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन श्रृंखला ‘सुर साधना’को अठारौं संस्करणमा गायक तथा संगीतकार डेनी निरौला सुनिए । डेनीले ‘म जिउँदो लाश’, ‘धेरै धेरै लामो कथा’, ‘फूल दिन्छु भन्थ्यौ’, ‘लाली हुँदो रहेछ माया’लगायतका गीत गाइरहँदा उनले यी सबै गीत आफ्नी आमालाई समर्पण गरेका थिए ।

गायिका बहिनी झुमा निरौलाले युगल गायनमा डेनीलाई साथ दिइरहँदा खड्ग बुढा मगर, लोकराज राई, अनुप दास, रोहित सुवेदी, दुर्गाप्रसाद खतिवडा, दीपेन्द्र बज्राचार्य, भगिरथ सुस्लिङ, सिता मैया राजचल र नरेश प्रजापतिले वाद्यवादनमा सहयोग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले डेनी सांगीतिक परिवारमा हुर्किएकाले उनको गायन शैलीबाट आफू प्रभावित भएको बताए । ‘डेनीको प्रस्तुतिले उनी कहाँसम्म पुग्ने लामो रेसको घोडा हो भन्ने प्रष्ट थाहा हुन्छ’, नेम्बाङले भने ।

कार्यक्रममा गीतकार चेतन कार्की, गायक तथा संगीतकार गणेश रसिक, गीतकार सुवासचन्द्र ढुंगेल, संगीतकार भूपेन्द्र रायमाझी, गायक गणेश पराजुलीलगायतको उपस्थिति थियो ।