चल्नै पर्ने ‘आमा’ र ‘सेन्टी भाइरस’, कसको सम्भावना कति ?
शुक्रबारबाट हलहरुमा दुई फिल्महरु प्रदर्शनमा आउदैछन् – ‘आमा’ र ‘सेन्टी भाइरस’ ।
नेपाली फिल्म उद्योगको लागि यी दुवै फिल्म चल्नै पर्ने फिल्महरु हुन् । यदि यी फिल्महरुले पनि राम्रो व्यापार गर्न सकेनन् भने लामो खडेरी भोगिरहेको फिल्म उद्योग झन् ओरालो लाग्ने छ र आगामी दिनमा निर्माताहरु लगानी गर्न हच्किने निश्चित छ ।
हामी दुवै फिल्मका केहि सबल र केहि दुर्बल पक्षहरु माथि चर्चा गर्दैछौ ।
सबल पक्षहरु :
दिपेन्द्र के खनाल निर्देशित ‘आमा’ पारिवारिक सम्बन्धहरुको कथामा आधारित छ । यसको शिर्षकको सेन्टीमेन्ट ले नै मानिसहरुलाई हल सम्म तान्ने तागत राख्दछ । त्यस्तै यस अघि ‘पशुपति प्रसाद’ बाट प्रसंशा बटुलेका निर्देशकको कारणले पनि फिल्म प्रतिक्षित बनेको छ । निर्देशकबाट एक परिपक्क फिल्मको आशा गर्न सकिन्छ ।
खनाल फरक फरक बिषयबस्तुहरु रोजेर फिल्म गर्ने निर्देशकमा पर्छन । निर्देशकले यस फिल्ममा प्रयोग गरेको फरक दृश्य भाषाले पनि नेपाली फिल्महरुमा नबिनता खोजिरहेका दर्शकहरुलाई तान्न सक्छ ।
यसै फिल्मबाट अभिनेत्री मिथिला शर्मा लामो समय पछि मुख्य भूमिकामा आउदैछिन् । नेपाल टेलिभिजनका पुराना टेलिशृंखलाहरु र पुराना फिल्मका दर्शकहरुको लागि यो रुचिकर हुनसक्छ ।
यस फिल्मले ‘सेन्टी भाइरस’ को तुलनामा कम शो पाएको छ तरपनि फिल्म राम्रो बनेको खण्डमा माउथ पब्लिसिटी को माध्यमबाट धेरै दिन सम्म हलमा टिक्न सक्नेछ ।
त्यस्तै ‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । उनि एक सफल फिल्म निर्देशक हुन् ।
फिल्मको सबैभन्दा सबल पक्ष यसका कलाकारहरु हुन् । लामो समय पछि सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) फिल्ममा देखिदै छन् । यो बीच उनीहरु सामाजिक कारणले पहिले भन्दा बढीनै चर्चित भैसकेका छन्, जसको फाइदा फिल्मलाई हुन सक्नेछ ।
त्यस्तै फिल्ममा दर्शकहरु तान्न सक्ने कलाकारहरु – दयाहांग राई, विल्सन बिक्रम राई, बुद्धि तामांग, सन्दिप क्षेत्री लगायतको पनि अभिनय रहेको छ । फिल्ममा युट्युब बाट चिनिएका एलिश राई र पवन खतिवडा पनि छन् । त्यसैगरी फिल्ममा ‘भद्रगोल’ टिमको सहभागिताले गर्दा दर्शकको एक वर्ग थपिन पनि सक्नेछ ।
‘सेन्टी भाइरस’ मा राजनीतिक विषयवस्तु उठान गरिएको छ । यस अघि दर्शकहरुले त्यस्तै किसिमको कथा रहेको दिपकराज गिरि समूहको ‘छ माया छपक्कै’ पनि मन पराएका थिए । त्यसैले फिल्मको बिषयबस्तु र कमेडीका कारण दिपकराज गिरिका दर्शकहरुले पनि ‘सेन्टी भाइरस’ हेर्नेछन् । विदेशमा रहेका नेपाली फिल्मका दर्शकहरुले पनि यस्तो किसिमको विषयवस्तु मन पराउनेछन् ।
निर्माण टिमले फिल्मबाट आउने रकमको केहि निश्चित प्रतिशत धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको अन्तरराष्ट्रिय क्रिकेट स्टेडियम लाई जाने बताएको छ । यसको कारणले पनि फिल्म चल्न सक्नेछ ।फिल्मको प्रचारप्रसार पनि व्यापक ढंगले गरिदै छ र हलहरुमा धेरै शो पाएकोले फिल्मले इनिसियल राम्रो गर्ने अपेक्षा गरिएको छ ।
दुर्बल पक्षहरु :
‘आमा’ को दृश्य भाषामा गरिएको प्रयोग दर्शकहरुले स्वीकार नगर्न पनि सक्नेछन् । फिल्मको व्यापारलाई असर गर्न सक्ने अर्को पक्ष अहिलेको नेपाली फिल्मको माहोल पनि रहेको छ । नेपाली फिल्मले सन्तोषजनक व्यापार नगरेको धेरै समय भैसकेको छ ।
त्यस्तै मिथिला शर्मा र सुरक्षा पन्तले शुरुकै दिनमा दर्शक तान्न सक्ने क्षमता राख्दैनन् । त्यसमाथि फिल्मले धेरै शो पनि पाएको छैन् ।
‘सेन्टी भाइरस’ मार्फत धुर्मुस सुन्तली कमब्याक गर्दैछन् । उनीहरुको क्रेज राम्रो भए पनि फिल्ममा उनीहरु टेस्टेड छैनन् अर्थात् उनीहरुले खेल्दैमा फिल्म चल्ने हो/हैन अहिले नै यकिन गर्न सकिदैन ।
प्रचारप्रसारको क्रममा स्टेडियम निर्माणको मुद्दा अगाडी बढाईएको छ । मानिसहरुले त्यसको लागि अन्य मध्यमबाट आर्थिक सहयोग गर्ने त निश्चित छ तर फिल्म हल मै आफ्नो २-३ घण्टाको समय खर्चिन्छन् भन्ने चाहिं निश्चित छैन । त्यसैले फिल्मको कन्टेन्ट बाहिरको मुद्दा लिएर प्रचार प्रसार गर्नु पनि हानिकारक हुन सक्छ ।
अर्को तर्फ ‘छ माया छपक्कै’ कै विषयवस्तु दोहोरिएकोले र राजनीति प्रतिको बित्रिस्नाले पनि फिल्मप्रति दर्शकहरुको चाख कम हुन सक्छ ।
प्रतिक्रिया