शुरु भयो ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)’
राष्टिय सभा गृहमा आयोजित उद्घाटन कार्यक्रम मार्फत औपचारिक रुपमा ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)’ शुरु भएको छ । बिहिबार सभामुख अग्नि सापकोटाले पानसमा बत्ति बल्दै पाँच दिने फिल्म उत्सवको उद्घाटन गरेका हुन् । उनले आफ्नो छोटो मन्तब्यमा फेस्टिभल जीवन्त र सजिव अन्तरक्रिया हुने थलो भएको बताए ।
फिचर विधाका प्रमुख निर्णायकको रुपमा नेपाल आएका प्रकाश झाले आफु जन्मेको ठाउँ नेपालको सिमा नजिकै रहेको र बाल्यकालमा आफुहरु खुल्ला सिमाबाट नेपाल आए पनि काठमाडौँ भने पहिलो पटक आएको बताए । उनले फिल्म निर्माणको क्रममा प्रत्येक चरणलाई रमाइलो संग मनै देखि गर्ने हो भने फिल्म पनि राम्रो बन्ने विश्वास ब्यक्त गरे । त्यस्तै उनले फिल्म फेस्टिभललाई कलाको उत्सव भनेका छन् । कार्यक्रममा वरिष्ठ फिल्मकर्मी नीर शाह, फेस्टिभल अध्यक्ष केपी पाठक, श्रीलंकन फिल्मकर्मी अनोमा राजाकरुना, हलिवुड फिल्मकर्मी ल्यारी कासानोफले पनि आफ्नो मन्तब्य राखेका थिए । उद्घाटन कार्यक्रम पश्चात चिनिया फिल्म ‘दि कम्पोजर’ प्रदर्शन गरिएको थियो ।
फेस्टिभलको लागि ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी फिल्मबाट उत्कृष्ट ८० वटा फिल्म छनोट भएका छन् । फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा चल्नेछ । फेस्टिभल नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने लागेको हो ।
प्रतिक्रिया