यसरी मिल्यो ‘साङ्लो’ को गीतको विवाद

फिल्म ‘साङ्लो’ को ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको गीतको विवाद सुल्झिएको छ । ‘साङ्लो’ का संगीतकार सुरेश अधिकारी र यस अघि ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका निर्देशक सुदीप भुपाल सिंहबीच यूट्युबमा गीतकारमा दुवैको नाम राख्ने गरि सहमति भएको हो । साथै क्षतिपूर्ति स्वरुप सुदीप भुपाल सिंहलाई ५० हजार १ रुपैयाँ पनि दिईएको छ । उक्त रकम मध्ये ५० हजार स्वर्गीय केशब भट्टराईको परिवारलाई दिने र आफुले १ रुपैयाँ मात्र राख्ने सुदिपले बताए ।

उक्त गीतको शब्दहरु आफुले लेखेको तर कुनै जानकारीनै नदिई ‘साङ्लो’ मा प्रयोग गरिएको साथै रचनाकारको नाममा समेत आफ्नो नाम नराखेको भन्दै गएको शुक्रवार सुदीपले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि मंगलबार अभिनेता विराज भट्टले पत्रकार सम्मेलन गरेर १०/२० लाख माग्दै आफुलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप पनि लगाएका थिए । तर सुदिपले यदि आफुले ‘ब्ल्याकमेल’ गरेको भए कानुनि सजाय भोग्न तयार रहेको बताए ।

प्राविधिक त्रुटीका कारण गीतकारमा निशान भट्टराईको नाम पर्न गएको भन्दै संगीतकार अधिकारीले भने, ‘हामीबाट केही गल्ती भएको पक्कै हो । विराजजीको आग्रहमा मैले गीतको शब्दमा केही परिवर्तन गरेको हुँ । सुदीप जीसँग सम्पर्क गर्ने कोशिश पनि गरेको थिएँ । तर, त्यसबेला उहाँसँग सम्पर्क हुन सकेन । पछि उहाँसँग सम्पर्क भएपछि कुरा मिलिहाल्छ भन्ने मैले सोचेँ । र, अहिले सुदीपजीले आफ्नो अधिकारका लागि लड्नु भएको लडाईंको म पनि समर्थन गर्छु ।’ सुदीपले आफ्नो लडाईं गलत संस्कारको विरुद्धमा रहेको बताउँदै ‘साङ्लो’ लाई सफलताको शुभकामना पनि दिए ।

‘साङ्लो’ लाई विराज भट्ट स्वयंले निर्माण तथा निर्देशन गरेका हुन् । किड्नी तस्करीको कथा भन्ने फिल्ममा विराजको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डक छिन् । फिल्ममा कामेश्वर चौरासिया, प्रकाश शाह, जयनन्द लामा, आर.पि. पन्त लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको फिल्म शिवम् अधिकारीले लेखेका हुन् । फिल्म माघ २४ बाट प्रदर्शनमा आउने छ ।