गायक अनिल सिंहको जीवन ‘खतरा’ मा (अडियो सहित)
संगीतकर्मी अनिल सिंहले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै आफ्नो जीवन खतरामा भएको बताएका छन् । अनिलले सोमबार बेलुकीबाट पटक पटक सामाजिक संजालमा पोष्ट गर्दै आएका छन् ।
युद्ध शङ्ख भन्दै आफूले गायक एल्बमका लागि गरेको सम्झौता पत्रको फोटो पोष्ट गर्दै आफ्नो जीवन खतरामा भएको बताएका छन् । उनले लेखेका छन्, ‘कथा रोचक छ ! पुरानो सम्झौता पत्र, शक्तिशाली संस्थाहरु- त्यसैले त कलाकारको प्राण सङ्कटमा छ ।’ साथै उनले इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डट कम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर आफ्नो गीत बेचेको आरोपसमेत लगाएका छन् ।
उनले फेसबुकमा एउटा अडियो पोष्ट गर्दै भनेका छन्, ‘म गर्वका साथ भन्छु कि राजेश बंशलजीसँग मैले मेघाहर्ज भन्ने एल्बमको सम्झौता गरेको हुँ । सम्झौता भनेको सम्झौता हो । सम्झौता गरेपछि त्यसको अरु कुनै विकल्प छैन । मैले राजेश बंसलजीलाई सुम्पिसकेँ, त्यसमा मेरो अधिकार छैन । तर सम्झौता गरेअनुसार प्रेम पत्रको अडियोमा मात्रै राजेश बंशलको अधिकार छ । प्रेम पत्र भिडियोको निर्माता म हुँ । त्यो मैले बनाएको हुँ । त्यसको हक न इन्द्रेणी क्यासेट सेन्टरसँग छ, न राजेश बंशलसँग छ । विगत १७ वर्ष देखि राजेश बंशलले मेरो भिडियो बनाएर, अडियो बनाएर, सिडी बनाएर विक्री वितरण गर्दै आएका छन् । उनले प्रेम पत्रमात्र होइन, ‘परी’ गीत पनि विक्री वितरण गर्दै आएका छन् । उनले ममाथि जालझेल गर्न कुनै विकल्प बाँकी राखेका छैनन् ।’
साथै, उनले भूलवश मेघाहर्ज एल्बमको नक्कली सम्झौता पत्र ठानेर सक्कली सम्झौता पत्र च्यातेको पनि बताए । आफूले म्युजिक नेपालको बन्द कोठामा श्री शुभ बहादुर, सन्तोष शर्मा र अनिल स्थापित तथा म्युजिक डट कमका सञ्चालक राजेश बंशल सामु मौखिक रुपमा सम्झौता भङ्ग गर्नु आफ्नो मुख्य उद्देश्य भएको बताए । उनले यसलाई आफ्नो अपराध भएको पनि स्वीकारेका छन् ।
यस्तै, सम्झौता पत्र च्यातेर उनले महागल्ती गरेको पुष्टि भए अबको २४ घण्टामा आफूले आत्मसमर्पण गर्न चाहेको अनिलले बताए । उनले भने, ‘मैले गरेको अपराध विवरण अनि अडियो प्रमाणसहित आत्मसमर्पण गर्न चाहन्छु । नेपाल सरकार, सम्मानित अदालतको कानून बमोजिम कडाभन्दा कडा सजायको अपिल गर्दै प्रस्तुत भएको छु ।’
अबको लडाईंले राजनीतिक मोड पनि लिन सक्ने भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र सांसद कोमल वलीको विशेष ध्यान आकर्षण गर्न चाहेको बताए । उनले लेखेका छन्, ‘मेरो अपराधको दण्ड सजाय नेपाल सरकारको कानून र नेपाली जनताले तय गरे अनुरुपको सजाय पाउनुपर्ने मेरो पहिलो निवेदन छ । म प्रस्तुत छु ।’
प्रतिक्रिया