सर्लाहीमा ‘जेवी टुहुरे एकल गायन’

बरिष्ट गायक जेबी टुहुरेलाइ सर्लाहीको हरिवनमा अभिनन्दन गरिएको छ । हरिवन–५ घुर्कैली स्थित श्रवण द्वन्द पीडित बालगृहमा आयोजित ‘जेवी टुहुरे एकल गायन’ को चौथो सृँखलामा गायक टुहुरेले आफ्ना गीतहरु समेत सुनाए । द्वन्द पीडित बालगृहको सहयोगार्थ तथा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनका लागि जेवी टुहुरेको यो एकल गायनमा उनले आमा माया… बोलको गीतबाट कार्यक्रम सुरु गरेका थिए ।

प्रगतिवादी सांस्कृतिक अभियानमा २०२४ सालदेखि आफुले गाउँदै आइएका चर्चित गीतहरु टुहुरेले सो कार्यक्रममा गाएका हुन् । उनले बसाई हिड्नेको तातीले…, दुस्खको बोझ विसाउन…, पानी चल्दैन रे…, बरु मेरो छाती छेड्ला… लगायतका गीतहरु सुनाए । उनले आमा दिदी बहिनी हो…गीत सुनाउँदा दर्शक नाचेका थिए । सो क्रममा उनले आफ्ना १४ वटा गीत प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रहेका थिए ।  सो क्रममा पूर्वप्रधानमन्त्री नेपालले हरिवन नगरपालिकाको तर्फबाट अग्रज गायक जेबी टुहुरेलाई अभिनन्दन गरे । सो अभिनन्दनले आफुलाई गायनमा निरन्तर अघि बढ्न अझ प्रेरणा मिलेको अग्रज गायक टुहुरेले बताए । चेतना सन्देश नेपालको आयोजनामा सम्पन्न सो एकल गायनको सँयोजन सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापालगायतले गरेका थिए ।

टुहुरेलाई एकल गायनमा प्राज्ञ उदय श्रेष्ठ, सँसाद मधु गुरुङ, कलाकार आकाश थापा र गंगा राईले पनि साथ दिए । सो कार्यक्रममा प्रत्यक्ष बाद्यबादनतर्फ क्याक्सोेफोन वादक मनोहर सुनाम, वेस गीतारमा अनुप दास, तवलामा भरत बुढाथोकी, ढोलकमा राम सुस्लिङ, मादलमा पोषण घर्ती, बाँसुरीमा गोपालदेव घतानी, किवोर्डमा राहुल भुजेल, अक्टोप्याडमा शशिभुषण भट्टराई र गीतारमा दिवस श्रेष्ठ थिए ।