‘जुमान्जी’ क्युएफएक्सबाहेक उपत्यकाका अन्य हलमा नलाग्ने
यहि शुक्रवारबाट बिश्वभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जुमान्जी द नेक्स्ट लेभल’ क्युएफएक्स चेनमा मात्रै चल्ने भएको छ । फिल्म वितरक कम्पनी एप्पल डिस्ट्रिब्युसनले फिल्मको सेयरका साथसाथै थ्रीडी ग्लासको समेत पचास प्रतिशत सेयर मागेपछि फिल्म अन्य हलले नचलाउने निर्णय गरेका हुन् ।
काठमाडौं उपत्यकाका बाँकी हलले सामूहिक छलफल गर्दै यस्तो निर्णय गरेको श्रोतले बताएको छ । ‘यदि यो फिल्ममा थ्रीडी ग्लासको पैसा दिने हो भने सधैंका लागि यो नियम मान्नु पर्ने हुन्छ । जुमान्जी लगत्तै स्टार वार्स र सैफ अलि खानको नयाँ फिल्म समेत प्रदर्शनमा आउदै छन् । दर्शक नआएर हलमा यत्तिकै आर्थिक संकट चलिरहेको छ । झन् थपेर सेयर दिने हो भने हल चलाउनै गाह्रो हुन्छ,’ नाम नखुलाउने शर्तमा एक हल म्यानेजरले भने ।
यो समाचार तयार पार्दासम्म क्युएफएक्सले सो बाँडफाँड गरे पनि अन्य हलले बाँडफाँड नगरेको मात्र होइन, वेभसाइटबाट फिल्मको पोस्टरसमेत हटाइसकेका छन् । जबकि केही दिनअघिसम्म सबै हलको वेभसाइटमा अपकमिङ फिल्ममा जुमान्जीको पनि नाम थियो ।
एप्पल कम्पनी प्रमुख जेनिस पहरीले आफूहरुले थ्रीडी ग्लासको सेयर मागेको बताइन् । ‘हामी टुडी फिल्म यत्तिकै दिन तयार छौं । तर, थ्रीडी चलाउने हो भने हामीलाई पनि सेयर दिन पर्छ,’ उनले भनिन् । दर्शकलाई टुडी फिल्मभन्दा थ्रीडी फिल्म हेर्न ५० रुपैंया बढी महंगो पर्नेगर्छ ।
ह्लको लडाइँले दर्शक भने प्रत्यक्ष मारमा पर्ने भएका छन् । वितरक कम्पनी र हलवालाबीच कुरा नमिल्दा उनीहरुले क्युएफएक्स चेनका हलमा मात्र यो फिल्म हेर्न सक्नेछन् । वितरण कम्पनी एप्पल क्युएफएक्स चेनकै भगिनी संस्था हो ।
प्रतिक्रिया