सुर्य अवार्डमा मह जोडीदेखि पत्रकार सुबेदीसम्म सम्मानित
विविध समस्याका बावजुद दोस्रो ‘सुर्य इन्टरनेसनल अवार्ड’ सम्पन्न भएको छ । नेपाली कलाकर्मीको जम्बो टोलीका साथ जापानको टोकियो स्थित नाकानो जिरो हलमा आइतबार साँझ अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।
अवार्ड कार्यक्रममा हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुर्य रत्न सम्मान प्रदान गरिएको थियो । यस्तै वरिष्ठ अभिनेता निर विक्रम शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । कलाकार तथा विमान चालक विजय लामालाई ‘सुर्य कलाकारिता सम्मान’ प्रदान गरियो । दुई दशक लामो समय कला पत्रकारितामा सक्रिय पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीलाई यसपटकको ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सुवेदीलाई २५ हजार (जापनियान) सहित पुरस्कार दिइयो ।
त्यस्तै पपुलर फिल्म छक्का पान्जा ३, पपुलर फिल्म निर्देशक सोहि फिल्मबाट दीपा श्री निरौला, पपुलर एक्टर क्याप्टेन फिल्मबाट अनमोल केसी, एक्ट्रेस साम्राज्ञी आरएल शाह, पपुलर सह अभिनेता चंगा चेटबाट बुद्धि तामांग र सह अभिनेत्री गोपीबाट बर्षा राउतले अवार्ड प्राप्त गर्न सफल भए ।
आधुनिक गीत तर्फ दर्शन नमस्ते भाग ५बाट राजेश पायल राईले अवार्ड प्राप्त गरे । त्यस्तै पिरिम नलाउनेबाट गायिका मेलिना राई, पप गीतमा गायक संजय पराजुली र गायिका टिका प्रसाईं गीत कर्के नजरमार्फत अवार्डबाट सम्मानित भए । लोक गीतबाट गायक कुलेंद्र बिक र गायिका मन्जु पौडेलले अवार्ड हात पारे ।
बेस्ट क्रिटिक्स अवार्ड अन्तर्गत फिल्म प्रसाद, अभिनेता बिपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ बने । फिल्म गोपी मार्फत निर्देशक दिपेन्द्र लामालाई अवार्ड प्रदान गरियो ।
प्रतिक्रिया