“स्कुटी” चढ्ने रहरले विश्व विजेताको ताज

२८ वर्षीया प्रियारानी लामाले मलेसियाको राजधानी क्वालालम्पुरमा भएको ‘मिस कस्मोपोलिटन वल्र्ड २०१९’ को ताज जितेकी छिन् । सुन्दरता र बौद्धिकता प्रदर्शन गर्ने प्रतियोगितामा विश्वका ३१ राष्ट्रका युवतीलाई पछि पार्दै प्रियाले विश्व विजेताको ताज पहिरिएकी हुन् ।

‘बेस्ट ट्यालेन्ट’ र बेस्ट नेसनल कस्टम’को उपाधि जित्दै प्रिया फाइनलमा पुगेकी थिइन् । २५ अक्टोबरमा सम्पन्न प्रतिस्पर्धाको फाइनलमा उत्कृष्ट पाँचजनालाई निर्णायक मण्डलबाट सोधिएको प्रश्नको सटीक तथा तार्किक जवाफले अन्य प्रतिस्पर्धीलाई उछिनेर आफू विश्व विजेताको ताज पहिरिन सफल भएको प्रियाले बताइन् । ‘किन तपाईं अर्को मिस पोलिटन वल्र्ड बन्न चाहनुहुन्छ ?’ निर्णायकले प्रश्न सोधेपछि लामो श्वास फेरेँ,’ उनले भनिन्, ‘म आफूमा विश्वास गर्ने गरी विश्वभरि हरेक महिलालाई सहयोग गर्छु । तपाईं धनी वा गरिब हुनाले फरक पार्दैन, केवल तपाईंको मुटु पछ्याउनुहोस् र तपाईंको सबैभन्दा राम्रो संस्करण हुनुहोस्, किनकि हामी सारा विश्वमा परिवर्तन ल्याउन सक्छौँ भन्ने जवाफ दिएँ ।’

मिस कस्मोपोलिटन वर्ल्ड २०१९ मा मलेसियाकि क्रिस्टिन चाइ छिन फर्स्ट रनरअप , नेदर ल्याण्डकि मृत बिट्स सेकेन्ड रनरअप , फिलिपिन्सकि क्लारिसा इसिद्रो थर्ड रनर अप र रसिया कि इकाटेरिना भेनि बर्गर फ्रोथ रनर अप घोसित भएका थिए

यसरी मोडियो यात्रा
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जन्मिएर मावि तहसम्मको अध्ययन पूरा गरी पूर्वको चर्चित सहर धरानमा विज्ञानमा १०+२ पढ्न हिँडेकी प्रियाले सन् २००८ मा हुने भनिएको ‘मिस टिन धरान’मा स्कुटीका लागि भिड्ने मनस्थिति बनाएपछि जीवनको बाटो नै बदलिएको थियो । ‘स्टुकी चढ्ने रहर थियो, तर बुबा–आमाले आयस्रोतले धान्दैन भनेपछि ‘मिस टिन धरान’मा विजेता बन्न पाए स्कुटी पाउने मोहले डाक्टर बन्ने बाटो नै मोडियो,’ उनले भनिन्, ‘सानिमा उषाको प्रेरणामा सो प्रतियोगितामा भाग लिने तयारी गरेँ । प्रतियोगिता त भएन, तर मेरो त्यसतर्फको यात्रा रोकिएन ।’

त्यसपछि सन् २०१० मा भएको ‘मिस पूर्वाञ्चल’मा फस्र्ट रनरअपको उपाधि जितेसँगै १०+२ को अध्ययन सकिएपछि स्नातकमा माइक्रोबाइलोजी मूल विषय राखेर पढेको बताउँदै उनले भनिन्, ‘सन् २०१५ मा मिस नेपाल प्रतियोगितामा सामेल भए पनि कुनै स्थानमा परिनँ । त्यसको तीन वर्षपछि सन् २०१८ मा भारतको नयाँदिल्लीमा ६५ देशका सुन्दरी प्रतियोगितामा फेस अफ इन्टरनेसनलमा उत्कृष्ट १२ मा परेँ ।’

२०११ देखिमिस पूर्वाञ्चलको कोरियोग्राफरको रुपमा कार्यरत उनी ,हाल नेपाल वान टेलिभिजनका टेलिभिजन कार्यक्रम प्रस्तोतासंगै मोडल तथा कोरियोग्राफरका रुपमा सक्रिय रहेकी छिन्।