यस कारण सर्यो ‘घामड शेरे’

शुक्रबारबाट रिलिज हुन लागेको फिल्म घामड शेरे अन्तिम समयमा रिलिज नहुने भएको छ । निर्माता तथा वितरकले पर्याप्त सो नपाएको भन्दै फिल्म रिलिज पोस्टपोन्ड गरेका हुन् । काठमाडौंका वितरक स्टेसन फाइभका प्रचण्डमान श्रेष्ठले फिल्मले पाएको सोले सोचेजस्तो व्यापार नहुने देखेपछि रिलिज पोस्टपोन्ड गरेको मेरो फिल्मलाई बताए ।

‘ फिल्मले अहिले पाएको सोले फिल्मको व्यापार कम हुने आँकलनमा हामीले रिलिज पोस्ट पोन्ड गरेका हौं । दुई हप्तापछि फेरि प्रचार प्रसार गरेर फिल्म रिलिज गर्छौं,’ उनले भने । निर्माण टिमले कात्तिक २२ लाई नयाँ रिलिज मिति घोषणा गरेको छ ।

सो विषयमा प्रतिक्रिया लिन खोज्दा निर्माता तथा निर्देशक हेमराज बिसीले खास बोल्न चाहेनन् । उनले आफू तनावमा रहेको र अहिले पनि स्टुडियोमै रहेको भन्दै यस विषयमा पछि बोल्ने बताए । तर, श्रोतले निर्माण टिमले बिहीबार बिहान प्रेस मिट गरेरर फिल्म रोकिएको सम्बन्धमा जानकारी गराउने तयारी गरिरहेको छ ।

 

फिल्म रिलिज हुन्छ कि हुन्न भन्ने दोधारका बीच दस दिन मात्र बाँकी रहँदा फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । सोही कार्यक्रममा स्वस्तिमा खड्काले भने ‘फिल्म सोही मितिमा आउँछ ?’ भन्ने पत्रकारको प्रश्नमा ‘ फिल्म नसरेमा कात्तिक ८ मा आउँछ’ भन्ने उत्तर दिएकी थिइन् । उनको उत्तरले फिल्म आउने नआउने कुरामा कलाकार नै कन्फर्म नभएको अवस्था झल्काउँथ्यो ।

 

यसअघि फिल्म असोज ३ मा आउने चर्चा थियो । तरपछि त्यो मितिमा कबड्डी ३ रिलिज भएको थियो । थिएटरका कलाकारको बाहुल्य रहेको फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काले मुख्य भूमिकामा अभिनय गरेका छन् । कात्तिक ८ मै दुई हिन्दी फिल्म र एक नेपाली फिल्म रिलिज हुँदैछन् । पछिल्लो समय केही मल्टिप्लेक्सले विदेशी फिल्मलाई च्यापेर नेपाली फिल्मलाई माइनस गर्ने गरेको आरोपप लाग्दै आएको छ ।देशको सबैभन्दा ठूलो सिनेमा हल चेनले बुधबार सार्वजनिक गरेको सोमा हिन्दी फिल्म हाउसफूल ४ लाई २४ सो उपलब्ध गराउँदा घामड शेरेले ६ सो र अर्को नेपाली फिल्मले जम्मा ५ सो पाएको थियो ।