इटहरीमा लाखेको स्वागत ‘जाइरा’ टिमलाई

भदौ ६गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ को सम्पूर्ण  टीम मोफसलको प्रचार सकेर काठमाण्डौ फर्केको छ । पोखरा, चितवन तथा पूर्वी नेपालको धरान र इटहरीमा प्रचार-प्रसारका विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

इटहरीमा भने परम्परागत शैलीको कार्यक्रम भन्दा भिन्न शैलीको कार्यक्रम आयोजना भएको थियो । इटहरीका स्थानिय युवाहरुको सक्रियतामा लाखे जुलुस निकालेर ‘जाइरा’ टीमलाई स्वागत तथा बजार परिक्रमा गराएको थियो । नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा मुखुन्डो पहिरिएर गरिने परम्परागत लाखे नृत्य ‘जाइरा’ रिलीजको संघारमा प्रस्तुत गरिएको थियो । ‘जाइरा’को प्रचारमा सहयोग तथा रिलीजको खुशियालीमा लाखे जुलुस निकालिएको स्थानिय युवाहरुले बताए ।

प्रचार यात्रामा फिल्मकी मूख्य पात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगर लगायत रहेका थिए । मोफसल प्रचारको क्रममा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले चलचित्र केहि अनौठो लाग्न सक्ने बताउँदै चलचित्र राम्रो बनेको खण्डमा सफल हुनेमा बिश्वस्त देखिइन् । पहिलो पटक यस प्रकारको भूमिकामा अभिनय गरेकी नम्रताले स्पोर्टस ड्रामा ‘जाइरा’ एक्शन मन पर्ने दर्शक मात्र नभएर सबै दर्शकले मन पराउने बिश्वास व्यक्त गरिन् ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रनिता श्रेष्ठ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् ।