आयुषको आवाजमा ‘हजार जुनी सम्म’ को शीर्ष गीत सार्वजनिक

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्म ‘हजार जुनी सम्म’ का लागि गीत गाएका छन् । उनले उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ गाएका हुन् । फिल्ममा यसलाई रि-एरेञ्ज गरिएको छ । गीतलाई उदयले नै तयार पारेका हुन् । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसि बनाएको बताए थिए । फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग ’किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ ।

उदयको स्वरमा फिल्ममा गीत गाउँदै गरेको आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा उनले चाइल्ड स्टार अनुभव रेग्मी । उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केहि सिकाएका थिए । ‘मैले दिएको शैलीलाई उसले छिटै टिप्यो , उ मेहेनती मात्र होइन् ज्ञानी पनि रहेछ’ आयुषलाई भेटेपछि उदयले खुसि हुँदै भनेका थिए । ‘यो गीत मेरो निकै नजिकको गीत हो , त्यसैले अरुलाई दिदा निकै सोच विचार गरेर दिन्छु’ उदयले भने । आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण गीतको रुपमा उदयले ‘हजार जुनीसम्म’ लाई लिने गर्छन् । ‘मेरो करियरमा यसले निकै महत्व राखेको छ आश छ आयुषलाई पनि त्यस्तै हुनेछ’ उदयले आशिष दिए । आयुषले पनि उदयको गीतमा गाउँनु पाउँदा उत्साहित छन् । ‘मैले यो गीत गाउँन पाउनु नै एक किसिमको जीत हो’ आयुषले भने । आयुषले फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्श्वगायनमा डेब्यु गरेका हुन् ।

विकासराज आचार्यको निर्देशनमा तयार भएको फिल्म आउँदो साउँन ३०बाट रिलिज हुँदैछ । फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का,  संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।