फिल्मकर्मीको ९बुँदे माग सहितको ज्ञापन पत्र
मंगलबार साँझ फिल्मकर्मीहरुले सञ्चारमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाली फिल्म क्षेत्रलाई थप व्यवस्थित, सुविधा सम्पन्न र रोजगारीको क्षेत्र बनाउने वातावरण सिर्जना गर्ने माग गर्दै विभिन्न नौ बुँदे माग राखेर फिल्मकर्मीले सञ्चारमन्त्री गोकुल बाँस्कोटा समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
विशेषज्ञहरुको मरामर्शमा राष्ट्रिय चलचित्र नीति परिमार्जन गरिनु पर्ने, मान्यता प्राप्त सफ्ट्वेरसहितको बक्सअफिस प्रणाली जडान गर्नुपर्ने, नेपाली चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्न सरकारले सहयोग गर्नुपर्ने, सरकारको पहल र सक्रियतामा प्रत्येक वर्ष चलचित्र महोत्सव आयोजना गर्नुपर्ने, विदेशी चलचित्र नेपालमा छायांकनका लागि सहज वातावरण र सुलभ अवस्था सिर्जना गरिदिनुपर्ने फिल्मकर्मीको माग छ ।
सेन्सर बोर्डलाई फिल्म नियमन र वर्गिकरण गर्नमा केन्द्रित गर्नुपर्ने, छायांकन उपकरण तथा फिल्मका लागि आवश्यक सामग्रीको सहज उपलब्धताका लागि विशेष ब्यबस्था हुनु पर्ने, फिल्म प्रदर्शनमा रहेको सिन्डिकेटको अन्त्य गरिनुपर्ने, सबैलाई स्वीकार्य हुने गरि राष्ट्रिय चलचित्र अवार्डको छनोट र वितरण हुनु पर्ने तथा ब्यबस्थित र सुविधा सम्पन्न हल निर्माणका लागि प्रोत्साहन गर्नु पर्ने लगायत माग राखेर मन्त्री बाँस्कोटा समक्ष ज्ञापन पत्र बुझाइएको छ । रवीन्द्रसिंह बानियाँ, दीपकराज गिरी, सामिप्यराज तिमलसिना, प्रचण्डमान श्रेष्ठ, प्रदीप भट्टराई, श्रीधर पौडेल र हेमराज बिसीले मन्त्री बाँस्कोटा समक्ष ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया