‘जर्नी टु सिंहला’लाई भिडियो च्यालेन्ज अवार्ड

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै थालिएको देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगितामा सहभागी १ सय ३२ भिडियोलाई उछिन्दै सुकबहादुर तामाङले बनाएको अ जर्नी टु सिंहला भिडियो सर्वोत्कृष्ट घोषित भएको छ ।

सोमबार काठमाडौंमा आयोजित समारोहमा जुबुलिङ फिल्मद्वारा बनाइएको भिडियोका निर्माता तामाङले १ लाख नगद र २ लाख रुपैयाँको सिनेमा अध्ययन नेसनल फिल्म एकेडेमीको छात्रवृत्ति हात पारेका छन् । त्यसैगरी सामाजिक सञ्जालमार्फत सर्वाधिक दर्शकको भ्युज पाउनेमा कुमार भाष्करले बनाएको छटपूजाले पब्लिक च्वाइस अवार्ड प्राप्त गरेको छ । उक्त भिडियो निर्माताले पनि १ लाख नगद र २ लाखको सिनेमा अध्ययन छात्रवृत्ति उपाधि हात पारेका छन् ।

बेस्ट भिडियो अफ द इयरअन्तर्गत फस्ट रनरअप विधामा विक्रम न्यौपानेको राइनासले ५० हजार तथा सेकेन्ड रनअपमा सोलु दूधकुण्ड गाउँपालिकाले बनाएको सोलु दूधकुण्डले २५ हजारसहितको पुरस्कार हात पारे ।

वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले आहृवान गरेको प्रतियोगितामा फ्युचर स्टार विधामा आर्यन कुँवरको मानुङ कोट, बेस्ट स्क्रिप्ट राइटरमा भीमलाल श्रेष्ठको मकै विवाह, वुमन भिडियो मेकर अफ द इयरमा देवकी विष्टको ट्युन अफ झाँक्री, मोस्ट पोटेन्सियल डेस्टिनेसनमा इलामको सन्दकपुर गाउँपालिकाको सन्दकपुर, बेस्ट टेक्निकल सिनेम्याट्रोग्राफीमा दिनेश श्रेष्ठको रेड च्यारेट र मस्ट इनरजेटिक भिडियो मेकरमा विजय राईको सेतीदेवीले पुरस्कार हात पारे । यी सबै विधालाई नगद २५ हजार रुपैयाँसहितको पुरस्कार थियो ।

आयोजकका अनुसार, ५ सदस्यीय निर्णायकमण्डलले १ सय ३२ मध्येबाट ४७ वटा पुरस्कारका लागि मनोनयन गरेको थियो । ओझेलमा परेका पर्यटकीय गाउँ, गन्तव्य, संस्कृति लगायतका विषयको खोजी गर्ने यसको उद्देश्य थियो । फाउन्डेशनले पाँच मिनेटसम्मको भिडियो बनाउन जनवरी १ मा सार्वजनिक आहृवान गरेको थियो । यसको समयसीमा ३१ मे २०१९ सम्म रहेको थियो ।