साडी लगाउँदा नेताले गुनासो गरेछन् : अभिनेत्री करिश्मा मानन्धर
अहिले इलेक्ट्रोनिक मिडियाले गर्दा फेसनबारे सबैलाई थाहा हुन्छ । आफूलाई जस्तो सुट हुन्छ, त्यही गर्ने हो । जे कम्फर्टेबल हुन्छ, त्यही लगाउने हो । जे सजिलो हुन्छ, म त्यही लगाउँछु । पछि ८० वर्षको हुँदासम्म बाँचेँ भने पनि आफ्नो रोजाइ लगाउन छाड्दिनँ । मलाई साडी एकदम मन पर्छ । म फिल्ममा पनि साडीमा बढी नै देखिन्थेँ । मैले साडी लगाउँदा पार्टीका नेताले शरीर एक्सपोज गरेको गुनासो गरे रे । आफूलाई सुहाउँछ भने लगाउने हो । अफ्रिकाको कति ठाउँमा लुगै नलगाउँदा पनि भएको छ । लुगा लगाउँदा भद्दाचाहिँ देखिनुभएन ।
साडी यस्तो ड्रेस हो, जसमा सम्पूर्ण रूपमा छोपिएर पनि आफूलाई ‘एक्सपोज’ गर्न सकिन्छ । अन्य पोसाकमा यो गुण हुँदैन । साडीले सौन्दर्यलाई झनै परिष्कृत गर्छ । मैले एउटा नयाँ गीतमा पनि साडी नै लगाएकी छु । मान्छेलाई केले बढी अपिल गर्छ भन्ने हो । महिला सौन्दर्यको प्रतिमूर्ति हो । हरेकले इज्जतको नजरले हेर्नुपर्छ । साडी लगाउँदा सौन्दर्य थप निखारिन्छ । कतिपयले भन्छन् कि महिलाले छोटो लुगा लगाएकाले बलात्कार हुने गर्छ । त्यो मानसिक बिरामीले भन्ने कुरा हो । आपराधिक प्रवृत्ति भएकासँग मानसिक समस्या हुन्छ । उनीहरूले अपराध गरेर ‘इन्जोय’ लिन्छन् । त्यसकारण यस्ता कुतर्कको सहारा लिन्छन् । आपराधिक मानसिकता भएकाले साडी लगाए पनि त्यही नजरले हेर्छन् । त्यसकारण फेसन र अपराधको सम्बन्ध छैन ।
साभार : नयाँ पत्रिका
प्रतिक्रिया