जेठ अन्तिममा ‘अनुपम साङ्गीतिक साँझ’

अनुपम म्युजिक पोखराले हरेक वर्ष आयोजना गर्दै आएको अनुपम साङ्गीतिक साँझको छैटौँ संस्करण यस वर्ष जेठ २५ गते हुने भएको छ ।

सो संस्करणका लागि पोखराका कला, साहित्य र सङ्गीत क्षेत्रका व्यक्तिहरुको भेलाले अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा २१ सदस्यीय आयोजक मूल समिति गठन गरेको छ । वीरेन्द्र पालिखेलाई संरक्षक चयन गरिएको समितिको सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा टङ्कप्रसाद गुरुङ र सहसचिवमा गोविन्द सिन्जाली रहेका छन् । यस्तै सदस्यहरुमा रुद्र श्रीष मगर, खिम लामिछाने ‘काजी’, अनुज कुलुङ, केशव पराजुली, कमल जीसी, शिव गिरी, अशेष पालिखे, प्रकाश अधिकारी, दीपक विक, ईशु श्रेष्ठ, पवित्रा पराजुली, राहुल थापा मगर, राजु गुरुङ, लक्ष्मी गुरुङ, ऋषि ढुङ्गाना, हिमाल थापा मगर र मार्जन पुन रहेका छन् । समितिका सल्लाहकारमा पोखराका साहित्यकार, कलाकार र समाजसेवीलाई चयन गरिएको छ ।

कार्यक्रममा पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारहरुको साङ्गीतिक प्रस्तुतिसँगै नृत्य पनि प्रस्तुत गरिने संयोजक अनुराग अधिकारीले जनाए । उनका अनुसार बाबा फाउन्डेशन, नेपालद्वारा संरक्षित बालबालिकाको सयोगार्थ सञ्चालन हुने साङ्गीतिक साँझका अवसरमा अनुपम म्युजिक अवार्ड, तीर्थहरि समाजसेवा अवार्ड र अनुपम सङ्गीत सम्मान पनि प्रदान गरिने छ ।