वर्षाजी, टिकटक बन्दै गर्ने कि कलाकार सुध्रने ?

अहिले नेपाली कलाकारलाई हेर्न हल पुग्न नै पर्दैन । टिकटकमा रमाउने कलाकारहरुको कारणले गर्दा दर्शक हलमा आउन छाडेको बहस पनि भएको हो ।

टिकटकले कलाकारलाई सस्तो बनाएको छ । फिल्ममा नै हेर्नुपर्ने कलाकार अरु सामान्य दर्शक जसरी टिकटकमा रमाउँदा दर्शकले उनीहरुलाई पनि सामान्य नै मानेका छन् । यही भएर टिकटके कलाकारहरुका फिल्म चलेका छैनन् ।

तर, अभिनेत्री बर्षा सिवाकोटीले भने टिकटक नै बन्द गर्नुपर्ने स्टाटस कोरेकी छिन् । कलाकार टिकटकमा रमाउँदा उनीहरु सस्तो बनेको भनेर बर्षाले यसलाई नै बन्द गरिदिनुपर्ने माग राखिन् । उनले सस्तो अन्र्तवार्ता दिने युटुब च्यानल पनि बन्द गर्न माग गरिन् । तर नकारात्मक कमेन्ट बढी आएपछि उनले स्ट्याटस मेटिन् ।

टिकटकले देशका कुनाकाप्चामा लुकेका प्रतिभालाई उठाएको छ । यसैले टिकटक मुख्य समस्या होइन । बरु, विदेशी फिल्मका गीतमा समेत कहिले अभिनय देखाउन नपाए जसरी भिडियो बनाएर फलोअर्समा रमाउने कलाकार समस्या हुन् ।

नेपाली कलाकार टिकटकमा यति सस्ता भैसकेका छन् कि उनीहरुलाई हेर्न हलमा जान दर्शक रुचाउँदैनन् ।

यसैले टिकटक नै बन्द गर्ने कि आफू सस्तो हुन छाड्ने ? कलाकार टिकटकमा रमाउने अनी यसलाई नै बन्द गर्नुपर्छ भन्ने सुहाउला त ? कुनै पनि कुरालाई प्रयोग कसरी गर्ने भन्ने त कलाकारको कुरा हो । कलाकारलाई कसैले टिकटकमा भिडियो बनाउ भनेर त भनेको छैन होला ?