क्रिकेट रंगशाला निर्माणमा ‘यात्रा’ टिमको सहयोग
आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’ टिमले धुर्मुस सुन्तली फाउण्डेसनद्धारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ । फिल्मका निर्देशक सम्राट शाक्य , प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुग्दै संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग पाएपछि ‘धुर्मुस’ सिताराम कट्टेलले फिल्मको सफलताको शुभकामना दिदै सहयोग प्रति आभार व्यक्त गरेका छन् ।‘थोपा थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा छौ , त्यसैले यो सहयोग हाम्रो लागि अमुल्य छ’ धुर्मुस भन्छन् ‘हामीमा सहयोगी भाव चाहिन्छ अनि लक्ष्य प्राप्तिको उदेश्य , सफलता हात पर्छ ।’ उनले फिल्म यात्रामा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘हामीले अभियानमा एउटा सानो सहयोग गरेका छौ तर यो अरुका लागि प्रेरणा बन्न सक्छ’ उनि भन्छन् ‘फिल्मले नेपाली सुन्दरतालाई देखाउनेछ ।’
यसैगरी निर्माता सुशील पोखरेलले अभियानकै सहयोगार्थ हुन लागेको मातृभूमि कपमा आफ्नो टिम क्रिकेट खेल्न जाने समेत बताए । ‘हामी सलिनसँगै यात्रा टिम शनिवार क्रिकेट खेल्न टियु मैदान पुग्नेछौ’ सुशीलले आफ्नो टिम सामाजिक कार्यमा सहयोग गर्न सदैव तत्पर रहेको जनाए । केहि दिन देखि सलिनमान बनिया प्रशिक्षणमा समेत सभागी भइरहेका छन् । डेब्यु फिल्म मार्फत नै आफुलाई युवापुस्ता माँझ स्थापित गराउन सफल भएका सलिन यसमा भ्लगरको भूमिकामा छन् ।
प्रतिक्रिया