राजेश जीले मेरो प्रस्ताव मान्नु भएन – भुवन केसी

एक समय महानायक राजेश हमालले आफ्नो प्रस्ताव नमानेको सदाबहार नायक भुवन केसीले बताएका छन् । काठमाडौँमा फिल्म ‘क्याप्टेन’को प्रत्रकार भेटघाट कार्यक्रममा अभिनेता केसीले पुराना कुरा स्मरण गर्दै फिल्म ‘सुपरस्टार’मा आफुले गरेको भूमिकामा महानायक हमाललाई प्रस्ताव गरेको तर उनले नगरेको बताए ।

भोलीको दिनमा राजेश हमाल र भुवन केसीले अंकमाल गरेको तस्विर दर्शकले देख्न पाउलान् त ? यहाँहरु बिचको सम्बन्ध राम्रो छैन भन्ने फिल्म क्षेत्रमा हल्ला छ भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिँदै गर्दा केसीले उक्त कुरा बताएका हुन् । उनले भने, ‘जुन रोल मैले खेलेको छु त्यसमा मैले राजेश जीलाई अफर गरेको थिएँ । तर, उहाँको समय अनुकुल नभएको र ब्यस्तताका कारण गर्न सक्नु भएन । जुन रोल अभिनेता दिलिप रायमाझीले गर्नु भएको छ त्यो रोल मैले गर्ने र मैले गरेको रोलमा राजेश जीलाई गराउने मेरो सोच थियो तर पुरा हुन सकेन’ ।

आगामी दिनमा समय अनुकुल भएको खण्डमा सँगै काम गर्न आफु इच्छुक रहेको समेत उनले बताए । फिल्म क्षेत्रमा चलेको हल्ला जस्तो आफुहरु बिचको सम्बन्ध नराम्रो नरहेको समेत उनले प्रस्टाए ।