हमालको सधै एउटै गफ

अभिनेता राजेश हमालको एउटा कुरा सधै नै सुनिन्छ । पत्रकारले प्रश्न सोधे भने वा साथीभाइले प्रश्न सोधे भने, उनी फिल्म बनाउन लागेको कुरालाई अस्विकार गर्दैनन् । अभिनेता हमालले लामो समयदेखि फिल्म बनाउन लागेको बताइरहेका छन् । अभिनेता हमालले फिल्म बनाउने बताएपछि धेरै कलाकार निर्माता निर्देशक बनिसके । तर, हमालको कथा अझै सकिएको छैन ।

कथा नसकिएको भन्ने हमाल अहिले फेरि कथालाई परिमार्जित गर्न लागेको बताउँछन् । कथा परिमार्जित गरेर दमदार कथामा फिल्म बनाउने उनले तर्क गर्न थालेका छन् । अभिनेता राजेश हमाल सकुन्तला फिल्म खेलेपछि झस्किएका हुन् । उनलाई दर्शकले आफ्नो पुरानो ठर्रा अब मन पराउँदैनन् भन्ने लागेको हुनुपर्छ । यही भएर नै उनी अहिले विश्राम लिएर बसेका छन् ।

तर, हमालले कस्तो फिल्म बनाउन लागेका रहेछन् र हो, यति लामो समयदेखि आउँछ आउँछ मात्र भनेका । हमालको फिल्म आउने कहिले हो ? आउने भन्दा पनि सुरु हुने कहिले हो ? कि आफू हराएको छैन भन्ने देखाउन उनले फिल्म बनाउन लागेको छु भनेर जवाफ दिदै आएका हुन् ?  हमाल जी अब यो कुरा गफ नहोस् है ?