गोविन्द शाही निर्माता संघको उपाध्यक्ष पदबाट बर्खास्त

निर्माता संघका उपाध्यक्ष तथा वितरक गोविन्द शाहीलाई निर्माता संघको उपाध्यक्ष पदबाट बर्खास्त गरिएको छ । संस्थाको मान मर्यादाको ख्याल नगरी संस्थाको बदनाम गरेको, कार्यसमिती बैठकमा उपस्थित नभएको लगायत विविध कारणहरु देखाउँदै उनलाई बर्खास्त गरिएको बुझिएको छ ।

निर्माता संघमा उनी विरुद्ध उजुरी परेपछी निर्माता संघको न्यायिक समितीका तर्फबाट रोज राणाले र कलाकार संघको तर्फबाट अर्जुन श्रेष्ठले उनलाई बार बार सम्पर्क गर्न खोजेता पनि उनी सम्पर्कमा आएका थिएनन् । कहिले निर्माता कुट्ने, कहिले बितरक कुट्ने, कहिले हल मालिकलाई कुट्ने देखी उनी आफैँ निर्माता तथा वितरक रहेको फिल्म ‘लिली बिली’को उपत्यका भित्रबाट उठ्नु पर्ने पैसा गोलमाल गरेको आरोप खेप्दै आएका शाहीको यही आचरणका कारण बर्खास्त गरिएको निर्माता संघ सम्बद्ध श्रोतले बताएको छ ।

कार्यसमिती बैठकबाट उनलाई बर्खास्त गर्ने निर्णय गरिएतापनि उनलाई पत्र दिइसकिएको छैन । उनलाई पत्र दिएर पत्रकार सम्मेलन गरी बर्खास्त गरिएको औपचारिक जानकारी दिइने सम्बद्ध श्रोतले मेरोफिल्मलाई जानकारी दिएको छ ।