बलामी ईन्टरटेन्टमेन्टको म्युजिक फेस्टिभल
बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशभरका ६ ठाउँमा म्युजिक फेस्टिभल गर्ने भएको छ । यहि क्रममा पुस १६ गते आधा दर्जन राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित नेपालगञ्ज गुञ्जने भएको हो ।
नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँ बर्षको छेको पारेर म्युजिक फेस्टिभलको पहिलो आयोजना गर्न लागिएको आयोजक समीर बलामीले बताएका छन् । नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभल हुने भएको हो । कार्यक्रममा युवा वर्गको ढुकढुकी तथा गायक राजेश पायल राई, कमल खत्रीका साथै नेपाल आईडल सिजन १ का सुरज थापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्य कलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हसाँउनेछन् । कार्यक्रमलाई बरिष्ठ पत्रकार नरेश भट्टराईले संचालन गर्नेछन् । कार्यक्रममा आईटम नृत्यहरु पनि प्रस्तुत हुनेछन् । नृत्यको लागि कलाकार फाईनल गर्न बाँकी रहेको र अन्य सबै कलाकारहरुलाई फाईनल गरिसकेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताएका छन् ।
यस क्षेत्रको अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् । अहिले प्रचार प्रसारको काम तिब्र रुपमा शुरु भएको बताईएको छ । कार्यक्रमको लागी १५ बर्ष देखी ६० बर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको छ । कम्तीमा ७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमले नेपालगञ्जका सबै कलेजहरुमा क्याम्पेन शुरु गरिएको छ । आयोजकले पत्र पत्रिका, होडिङ्ग बोर्ड, ब्यानर, पोष्टर लगायतका प्रचारहरुलाई तिब्रता दिने जनाएको छ । नेपालगञ्जमा पनि चाँडै नै संचारकर्मीहरुसँग अन्तक्र्रिया गरिने पनि बताईएको छ ।
नेपालगञ्ज र कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि पनि यो कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित हुने सबै दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउनुपर्ने नियम आयोजकले बनाएको छ । जनवरी १ लाई नेपाली ढाका टोपि दिवसको रुपमा मनाउन कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने मनसायले उपस्थित दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउने वातावरण बनाउने आयोजकले दावी गरेको छ । पुर्ण सुरक्षा ब्यबस्था सहितको कार्यक्रमलाई स्थानिय सरकार, नेपाल पर्यटन बोर्ड, गोर्खा ब्रुअरी, जावलाखेल डिष्ट्रिलरी लगायतको प्रत्यक्ष सहयोग र सहकार्य हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया