पुनमको फिल्ममा पुष्पको जोडी साम्राज्ञी
पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । इन्टरटेनमेन्टकी प्रमुख तथा निर्माता पुनम क्षेत्री गौतमले आफ्नो नयाँ फिल्ममा साम्राज्ञीलाई अनुबन्ध गरेको पुष्टि गरिन् ।
‘पटकथाको पहिलो ड्राफ्ट तयार भएदेखि नै साम्राज्ञी हाम्रो पहिलो रोजाइमा थिइन् । अन्ततः हामी एक अर्कासँग काम गर्न तयार भएका छौं, ‘उनले भनिन्, ‘एउटा सुन्दर फिल्म बनाउने हाम्रो अभिलाषा साम्राज्ञीको आगमनसँगै झन् मजबुत भएको अनभूति भएको छ ।’
नायिका साम्राज्ञीले पनि फिल्मको कथा रोचक लागेकोले अभिनयका लागि राजी भएको बताइन् । ‘इन्टु मिन्टु लन्डनमा पछि जति पनि कथा सुनिरहेकी थिएँ त्यसमा यो फिल्मको कथा बिल्कुलै फरक छ । कथासँगै निर्माण टिम पनि राम्रो लागेकाले यो फिल्म गर्न राजी भएकी हुँ’, साम्राज्ञीले भनिन् ।
फिल्ममा साम्राज्ञीको आगमनसँगै मुख्य भूमिकामा अभिनय गर्ने कलाकारको टुंगो लागेको निर्माता गौतमले बताइन् । फिल्ममा यसअघि नै नायक पुष्प खड्का र रेबिका गुरुङ फाइनल भइसकेका छन् ।
माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने फिल्मको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । बाँकी कलाकार र नाम औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ ।
गोविन्द फुयाँलको लेखन रहेको फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । फिल्मको छायाँकारको रुपमा पनि सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् ।
प्रतिक्रिया