कलाकार संघको अध्यक्ष बन्न पाका र युवाको प्रतिस्पर्धा

नेपाली कलाकारहरूको छाता संस्था चलचित्र कलाकार संघको आगामी चैत ४ गते १९ औं अधिवेशन तथा कार्यसमितिको निर्वाचन हुने भएको छ । निर्वाचन हुन झण्डै दुई महिना बाँकी छँदा विशेषत अध्यक्ष र उपाध्यक्ष पदका आकांक्षीहरुको संख्या बढ्दै गएको छ ।

अधिकांश आकांक्षीहरुले सामाजिक सञ्जालमार्फ धमाधम उम्मेद्वारी घोषणा गरिरहेका छन् । अहिलेसम्म संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, सदस्य सबिन श्रेष्ठ र सुशान्तकुमार श्रेष्ठले उम्मेद्वारी घोषणा गरिसकेका छन् । त्यस्तै डीबी बम्जनले उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांश युवा सदस्यहरुले सबिनलाई समर्थन गरिरहेका छन् । तर पाका र अनुभवी कलाकार मोहनसँग संस्था चलाउने अनुभव भएकाले उनी संघका लागि योग्य उम्मेद्वार हुन सक्ने चर्चा फिल्म वृत्तमा छ ।

संघको स्थापनाकालदेखि विभिन्न पदमा सक्रिय रहेका निरौलाले फिल्म क्षेत्रको संरक्षण र संवर्द्धन, कलाकारको वर्गीय हित र उत्थान, सामाजिक परिवेशलाई एजेण्डा अगाडि सारेका छन् ।

कलाकार सबिन पछिल्लो समय केही म्यूजिक भिडियोमा देखिँदै आएका छन् । फिल्मको कुरा गर्ने हो भने कोभिड अगाडि केही फिल्ममा उनले अभिनय गरेपनि त्यससयता भने उनलाई फिल्ममा देख्न दर्शकलाई हम्मे नै परेको छ । अहिले सबिन सार्वजनिक शौचालयको व्यवस्थापन र सेनिटरी प्याड वितरणमा सक्रिय छन् ।

सबिनले फेसबुकमा आफूले बोलेर भन्दा पनि गरेर देखाउने भनेर उम्मेद्वारी घोषणा गरे नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हक, हित साथ, सहयोग र उन्नतिको लागि रात दिन सेवामा लाग्ने बताएका छन् ।

यता, कलाकार सुशान्त पछिल्ला वर्षमा मकवानपुरको हेटौडामा नै बसेर गैर फिल्म अर्थात अन्य व्यावसायिक काम गरिरहेकाले उनले संस्था चलाउन सक्छन् या सक्दैनन् भन्ने चर्चा उत्तिकै छ ।

उनीहरुको उम्मेद्वारी घोषणा कतिको सफल हुनेछन् भन्ने कुरा निर्वाचनको दिनले नै निर्धारण गर्नेछ ।