‘छड्के २’मा क्यूएफएक्सको खेलः भूवनसँगको शितयुद्ध अनमोलमाथि पोखिएको हो ?

देशकै सबैभन्दा धेरै चेन भएको मल्टिप्लेक्स क्यूएफएक्सको व्यवस्थापन टिमले सबैलाई हसाउँदै एउटा नयाँ नियम बिहिबार सार्वजनिक गर्यो । नेपाली फिल्म जुध्दा समस्या हुने भएको भन्दै अब ठूला फिल्म रिलिज हुँदा एकसाथ २ वटा रिलिज नगर्ने नियम बनाइयो । कही नभएको नियम क्यूएफएक्समा भने जस्तै, आफूलाई शक्तिशाली देखाउँदै निर्मातामाथि सिन्डिकेट लाद्न यो नियम ल्याइएको धेरैको आँकलन छ ।

तर, यसको पछाडि नायक अनमोल केसीको फिल्म ‘छड्के २’माथि क्यूएफएक्सले खेला खेलेको धेरैको वुझाई छ ।

विशेषगरि, नायक भूवन केसी चलचित्र विकास बोर्डमा नियुक्त भएपछि क्यूएफएक्सको टिम उनका केही नयाँ नियमले असन्तुष्ट छ । मुख्यतयाः भूवनले विश्वकप फूटलबका खेलहरु देखाउन नदिदा क्यूएफएक्स लगायतका हललाई कारबाही गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिले मल्टिप्लेक्स चेनको व्यवस्थापन टिम आक्रोशित रहेको वुझिन्छ । यसैले, भूवनसँगको शितयुद्ध उनका छोरा अनमोल केसीमाथि पोख्न खोजिएको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ ।

किनकी, क्यूएफएक्सका निर्देशक भाष्कर ढुंगानाले दिएको अन्तरवार्तामा पनि, आफूहरुले हेरेर हप्तामा एक, दुई वा सो भन्दा बढी फिल्म रिलिज गर्न सक्ने बताएका छन् । यसको अर्थ, क्यूएफएक्सको व्यवस्थापन टिमले निर्णय गर्यो भने एउटा मात्र नभएर सो भन्दा बढी फिल्म पनि रिलिज गर्न सकिन्छ भन्ने हो । तर, यो नियम ‘छड्के २’मा भने नलाग्ने उनको भनाई छ । ‘छक्का पन्जा ४’ किनिसकेकाले अब यो मितिमा अरु फिल्म लगाउन नसक्ने भन्दै क्यूएफएक्सले ‘छड्के २’ माथि मात्र विभेद देखाएको पक्का छ । यसलाई भूवन केसीमाथिको रिस अनमोलसँग पोख्न खोजिएको वुझाई धेरैको छ ।