के क्यूएफएक्सले मनोमानी रुपमा एउटा मात्र फिल्म रिलिज गर्छु भन्न मिल्छ ?
देशकै सबैभन्दा धेरै चेन भएको मल्टिप्लेक्स हो, क्यूएफएक्स । देशभर झन्डै एक दर्जन ठाउँमा यो मल्टिप्लेक्सको चेन छन् । यसकारण पनि निर्मातालाई क्यूएफएक्समा कती शो फिल्मले पायो भन्ने कुराले ठूलो अर्थ राख्ने गर्दछ । अझ, क्यूएफएक्समा फिल्म चल्यो भने निर्मातालाई नाफा कमाउन पनि सहज हुन्छ ।
तर, देशकै ठूलो चेनले व्यवसायिक धर्म समेत बिर्सिएर नयाँ निर्णय गरेपछि फिल्म क्षेत्रमा तरंग भने उत्पन्न भएको छ । झट्ट हेर्दा क्यूएफएक्सको नयाँ निर्णय फागुणको १९ गते रिलिज हुन लागेको फिल्म ‘छक्का पन्जा ४ र छड्के २’ लाई हेरेर गरेको देखिन्छ ।
चलचित्र संघ र चलचित्र निर्माता संघ बसेर गर्नुपर्ने निर्णयलाई एउटा हलको व्यवस्थापनले जर्बजस्ती लागू गर्न खोज्नु के तर्कसंकत होला र ?
क्यूएफएक्सले बनाएको नयाँ नियम अनुसार, अब दुइवटा फिल्म एकसाथ रिलिज नगर्ने भन्ने छ । जसअन्र्तगत फागुणको १९ गते क्यूएफएक्सले फिल्म ‘छक्का पन्जा ४’ लिइसकेकाले अर्को फिल्म ‘छड्के २’ रिलिज गर्न नसक्ने भन्ने अडान छ । एकसाथ दुई ठूलो फिल्म रिलिज हुँदा त्यसको असर निर्मातालाई पर्ने र कुनै एक निर्माताले हललाई नै दोष दिने भन्दै क्यूएफएक्सको व्यवस्थापन टिमले यस्तो निर्णय गरेको बताइएको छ ।
वितरकलाई पनि फिल्म रिलिज गर्नु अगाडि आफूहरुसँग सल्लाहा गर्नु भनिएको छ । यसको घुमाउरो अर्थ, अब नेपाली फिल्म रिलिज गर्दा आफूहरुलाई नसोधी गर्न पाइदैन भन्ने देखिन्छ ।
क्यूएफएक्सको यो निर्णयले केही बर्ष अगाडि विश्ज्योती हलमा लाग्ने गरेको क्यू सिस्टमलाई संझाएको छ । विश्वज्योती हलसहित काठमाडौंका केही हलमा फिल्म रिलिज गर्न त्यो समयमा निर्माताले लामो समय कुर्नुपर्ने हुन्थ्यो । स्वतन्त्र व्यवसायको तर्क गर्दै आएको क्यूएफएक्स म्यानेजमेन्टले कतै फिल्ममाथि सिन्डिकेट लाद्न खोजेको त होइन भन्न् प्रश्न समेत यो निर्णयले उब्जाएको छ ।
देशका अन्य थुप्रै हललाई नभएको समस्या क्यूएफएक्सलाई एक्कासी कसरी भयो, अचम्मको कुरा छ । मेरो फिल्मले बुधबार मात्र ‘क्यूएफएक्सलाई छक्का पन्जा ४ टिमले प्रतिशतमा फिल्म दिएपछि छड्के २ लाई अप्ठ्यारो’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
यो बिषयमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले भने–‘मैले पनि भर्खरै मात्र यो कुरा थाहा पाएँ । यो बिषयमा अहिले नै म केही बोल्न सक्दिनँ । यो बिषयमा हामी बिसेर छलफल गछौं ।’
यो मितिमा ‘छड्के २’ मात्र नभएर ‘परस्त्री, बुलाँकी’ लगायतका फिल्म रिलिज हुँदैछन् । अब, क्यूएफएक्समा यो मितिमा ‘छक्का पन्जा ४’ बाहेक यी फिल्म पनि लाग्छन् या लाग्दैनन् हेर्न बाँकी छ ।
बर्षमा ५२ हप्ता हुन्छ । नेपालमा एक बर्षमा ८० भन्दा बढी फिल्म बन्छन् । यस्तो अवस्थामा क्यूएफएक्सले कसरी हप्तामा एउटा मात्र फिल्म रिलिज गरेर अरु निर्मातालाई पाखा लगाउने हो, त्यो पनि समयले नै बताउनेछ । यो बिषयमा कुरा गर्दै निर्माता संघका अध्यक्ष नवल खड्काले भने–‘यो बिषयमा मैले पनि भर्खरै मात्र थाहा पाएँ । हामी केही दिनमै निर्माताहरुको भेला बोलाएर छलफल गर्छौ ।’
प्रतिक्रिया