हप्ता दिन अगाडिको सेन्सरले प्रदर्शकलाई टाउको दुखाई, भुवनको राजीनामा माग
कुनै पनि भाषाको फिल्म सेन्सर गर्नका लागि विकास बोर्डमा एक हप्ता अगाडि नै कागजपत्र पेश गर्नुपर्ने भन्ने नियमले प्रदर्शकहरुको छाता संगठन चलचित्र संघको टाउको दुखेको छ । यो नियम लागू भएसँगै केही हिन्दी र अंग्रेजी फिल्म तोकिएको मितिमा रिलिज गर्न कहिलेकाही समस्या उत्पन्न भएको छ । तर, यसले नेपाली फिल्मलाई भने ठूलो राहत दिएको छ ।
चलचित्र विकास बोर्डमा भूवन केसी अध्यक्ष भएसँगै आएको यो नियमले नेपाली निर्मातालाई राहत दिएपनि प्रदर्शक र विदेशी फिल्मका वितरकलाई भने रातको निन्द्रा नै गायब गरिदिएको छ । यसैले, प्रदर्शकहरुको छाता संगठन चलचित्र संघले आज देशभरका सय भन्दा बढी हल व्यवसायीलाई भेला गराएर आन्दोलनको घोषणा नै गरेको छ ।
उनीहरुले बोर्ड अध्यक्ष भूवन केसीको राजीनामा माग्नेदेखि हल बन्द गर्ने र चलचित्र विकास बोर्डमा ताला लगाउने चेतावनी दिएका छन् । उनीहरुले, यो बिषयमा बोर्ड अध्यक्षसँग वार्ता नै नगर्ने चेतावनी दिदै विकास बोर्ड खारेजीको माग नै राखेका छन् ।
संघले पौषको १२ गते संचार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र वुझाउने, पौषको १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने समेत बताएका छन् । यो मितिसम्म पनि माग सम्बोधन नभएको खण्डमा हल बन्द गर्ने र बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम घोषणा गरिएको छ ।
संघले राती १० बजेपछि फिल्म रिलिज गर्न नपाइने र विश्वकप फुटबल देखाउन नपाइने बोर्डको नियमप्रतिसमेत आपत्ती जनाएको छ । यस्तै, सिंगल थिएटरको मुद्दामा पनि बोर्ड गम्भिर नबनेको उनीहरुको आरोप छ ।
बोर्डले संघको मुद्दामा गम्भिर हुनु भन्दा पनि शासन लाद्न खोजेको महासचिव नरेन्द्र महर्जनको आरोप छ ।
प्रतिक्रिया