नायक आकाशदेखि नायिका वर्षासम्म नेताको प्रचारमा, कलाकार उम्मेदवारलाई पत्याएनन्
पबन भट्टराई
मंगलबार चितवन क्षेत्र नम्बर-२ का उम्मेदवार उमेश श्रेष्ठको ट्विटर ह्यान्डलमा एक भिडियो क्लिप सार्वजनिक भयो। त्यहाँ देखिए नेपाली फिल्मका चर्चित नायक आकाश श्रेष्ठ। पूर्व विध्यार्थीहरुको शुभकामना भनेर राखिएको भिडियोमा आकाशले श्रेष्ठ असल शिक्षासेवी भएको भन्दै चितवनवासीसँग मत मागे।
उनी मात्रै हैनन् पाँच दलीय गठबन्धनबाट चितवन-२ मा उम्मेदवार बनेका श्रेष्ठको पक्षमा मत माग्ने। श्रेष्ठ अगाडि नै अन्तराष्ट्रिय ख्याती पाइसकेका गायक विश्व नेपाली अनी अर्की चर्चित गायिका श्रेया सोताङले पनि श्रेष्ठ संस्थापक रहेको लिटिल एन्जल्सको पूर्व विध्यार्थीको हैसियतमा चितवनवासीसँग श्रेष्ठका लागि भोट मागेका छन्।
मतदानको दिन आउन आउन अब एक साता पनि बाँकी छैन। निर्वाचन आयोगले तोकेको मिति हो मंसिर ४। दुई दिन अगाडि नै प्रचारप्रसार बन्द हुनैपर्छ। त्यसैले अहिले उम्मेदवार, उम्मेदवारका समर्थक अनी शुभचिन्तकहरु मत माग्न ब्यस्त देखिन्छन्। प्राय राजनीतिमा त्यति चासो नराख्ने मानिने कला क्षेत्रका सदस्यहरुलाई पनि यो पटक भने छक्कै पर्नेगरी राजनीतिक लागेको देखियो।
केहीले सामाजिक सञ्जालमा लेखेर शुभकामना दिएर चित्त बुझाएका छन्। जस्तै भरतमणी पौडेल। पौडेल कमेडि च्याम्पियनका विजेता हुन्। उनी प्रतिष्पर्धामा रहँदा एमाले नेता योगेश भट्टराइले खुलेरै उनका लागि भोट मागिदिएका थिए।
त्यसकै गुन तिरेका हुन् या साच्चै मन परेको हो त्यो त उनै जानुन्। तर उनले बढो राजनीतिक चलाखी गर्दै एमालेबाट ताप्लेजुङमा प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनेका भट्टराइको नाममा मात्र भोट मागेनन्। उनले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका गगन थापाको नाममा पनि भोट मागेर एमाले हुनबाट जोगिए।
गायक(गायीकाहरुको स्वर दलका चुनावी गीतमा सुनिनु सामान्य भइसक्यो। अहिले पनि कांग्रेस होस् या एमाले वा राप्रपा वा अन्य दल तीनका चुनावी गीतमा ब्यवसायीक गायक अनी गायिकाहरुकै स्वर सुनिन्छ नै। लौ उनीहरुको ब्यवसाय नै पारिश्रमिक लिएर गीत गाउने हो। उनीहरुले व्यवसायीक धर्म निर्वाह गरे। तर यति मात्रैमा गायकरगायीका सिमित छैनन्।
लोक गायिका ज्योती मगर एमालेको झण्डै बोकेर प्रचारमै हिँडेको भिडियो क्लिप सामाजिक सञ्जालभरी छ्याप्छ्याप्ती छ। उनी ‘नमस्कार म ज्योती मगर। चिन्नु भो’ भन्दै भोट माग्दै हिँडिरहेकी छिन्।
ज्योति तनहुँ क्षेत्र नं १ ख प्रदेश सभा सदस्य उम्मेदवार पूर्ण बहादुर गुरुङ समर्थनमा उत्रेकी हुन्।
बलिउडमा सक्रिय अभिनेत्री मनिषा कोइराला त नेपालमा चलेको चुनावी हावाबाट तानिएर नेपालै फर्किसकिन्। उनी नेपाल आउनुको कारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताउन नेपाल आएकी हुन्। उनी राप्रपाको एक कार्यक्रममा सहभागी भएर भाषण समेत गरिसकिन्।
अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई राजनीतिले छोएको त स्थानीय तहको निर्वाचनबाटै हो। त्यो बेला काठमाडौं महानगरपालिकाकाको मेयरका उम्मेदवार बालेन शाह उम्मेदवार बनेपछि निश्चलसँगै उनको श्रीमती तथा चर्चित अभिनेत्री स्वस्तिमा खड्का पनि शाहको पक्षमा सक्रिय भएकी थिइन्।
अहिले बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा खुलेरै लागेका छन्। तर स्वस्तिमा भने शान्त छिन्। उता सरकारी पदमा रहेर कुनै दल वा उम्मेदवारको प्रचारमा सहभागी हुन नपाउने संहिता हुँदाहुँदै अभिनेता तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी कांग्रेसका उम्मेदवार विनोद चौधरीको चुनावी सभामा सहभागीहुँदा निर्वाचन आयोगको स्पष्टिकरण पत्र पाइसके। उनी सभामा रहेको तस्बिर सार्वजनिक भइसकेकाले उनी आयोगबाट कारबाहीमा पर्ने सम्भावना बलियो छ।
नायिका वर्षा सिवाकोटी काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी शोभिता गौतमको पक्षमा भोट माग्दै हिँडेकी छिन्।
कलाकारका पछि-पछि उम्मेदवार
कलाकार उम्मेदवारको पछि लागेका मात्रै छैनन्। केही उम्मेदवार कलाकारको पछि पनि लागेका देखिन्छन्। त्यसमा अगाडि देखिएका छन्। काठमाडौं १ बाट उम्मेदवार बनेका सिंह आफ्नो निर्वाचन क्षेत्रमा बस्ने कलाकारहरुको घरमै पुगेर भोट माग्ने अनी तस्बिर खिचाएर सामाजिक सञ्जालमा राख्न सक्रिय छन्।
उनले नायिका सुहाना थापासँग भेटेर भोट त मागे नै तस्बिर पनि खिचेर सामाजिक सञ्जालमा राखे। अनी थापाले सघाउने भन्ने आशय दिने सन्देश प्रवाह गराए। काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले हरिबंश आचार्यसँग भोट मागेर तस्बिर सार्वजनिक गरे। अन्य उम्मेदवारहरु पनि आफ्नो पक्षमा कलाकारलाई ल्याउन सक्रिय देखिन्छन्।
अरुको त के कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कलाकारहरुको एक हुल प्रधानमन्त्री निवासमै बोलाएर भेटे अनी फोटो खिचे।
तर कलाकार उम्मेदवारले पाएनन् साथ
यो पटकको निर्वाचनमा प्रदेशदेखि प्रतिनिधी सभाको उम्मेदवार बन्ने प्रतिष्पर्धामा कला क्षेत्रका धेरै जना छन्। उनीहरु अहिले निर्वाचनमा खटिएका छन्। तर कलाकारहरु एकै क्षेत्रमा रहेका आफ्ना सहकर्मी अनी पूर्व सहकर्मीको पक्षमा भने खुलेका छैनन्।
अभिनेत्री रेखा थापालाई सम्भावित विजेताको रुपमा हेरिएको छ। सामाजिक सञ्जालमा उनको चर्चा बाक्लै छ। तर उनलाई उनको कला क्षेत्रका कसैले भोट मागेको देखिएको छैन। उनी राप्रपाबाट उम्मेदवार बनेकी हुन्।
गायिका कोमल वली एमालेबाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनेकी छिन्। फिल्म निर्माता तथा अभिनेता रोज राणा कांग्रेसको प्रदेशको उम्मेदवार हुन्। निर्देशक तथा निर्माता मनोज पण्डित काभ्रेबाट उम्मेदवार बनेका छन्।
गायक तथा अभिनेता मुरलीधर, गायक सञ्जय श्रेष्ठ, स्ट्याण्डअप कमेडियन हिमेश पन्त, हाँस्य कलाकार मधुसुधन पाठक ‘सिते बा’, लोकदोहोरी गायक मिलन लामा, फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ लगायतका कला क्षेत्रकाहरु उम्मेदवार छन्। तर आफ्नै क्षेत्रका सदस्यहरुबाट सहयोग भने पाएका छैनन्।
प्रतिक्रिया