‘कान्तारा’बाट नेपाली फिल्म मेकरले के सिक्ने ?
शुक्रबारबाट रिलिजमा आएको नेपाली फिल्म ‘लाखे’ बक्स अफिसमा असफल भयो । यो फिल्म नचल्नुका थुप्रै कारणहरु खोज्न आवश्यक छ । किनकी, यो फिल्ममा मल्टिस्टारर कलाकार थिए । निर्देशक सम्राट बस्नेतले फिल्मको मेकिङ गज्जब गरेका थिए । तर, पनि फिल्म चलेन ।
यो फिल्म हेर्ने धेरैले यसको नाम र कथावस्तुको संयोजनको बिषयमा कुरा गरे । फिल्मको नाम ‘लाखे’ भएपनि यसले लाखे संकृतिलाई फिल्ममा राम्रोसँग जोड्न नसकेको धेरैको कथन थियो । फिल्म हेरेर निस्किएका दर्शकले पनि फिल्मको टिमलाई यही सुझाव दिएका थिए ।
यो कुरा गर्दै गर्दा पाँचौ हप्तामा चलिरहेको कन्नड फिल्म ‘कान्तारा’को प्रसंग उठाउन आवश्यक छ । यो फिल्मले नेपाली बक्स अफिसमा पनि सुखद कमाई गरिरहेको छ ।
किन चल्यो ‘कान्तारा’ ? किन हिन्दी भाषामा पनि यो फिल्मले बम्पर व्यापार गरिरहेको छ । विशेषगरि, यो फिल्मको कथावस्तुले दर्शकको मन छोयो । स्थानीय संकृतिलाई यो फिल्मले गज्जबसँग प्रस्तुत गरेको छ ।
भगवान् र जंगलको कनेक्शन, गाउँको संकृतिलाई फिल्मले जुन तरिकाले प्रस्तुत गरेको छ त्यो गज्जब छ । यस्तै, फिल्मको क्लाइमेक्सको पनि खुबै चर्चा भैरहेको छ । फिल्मको क्लाइमेक्समा जुन तरिकाले मेकरले सस्पेन्सका साथमा संकृति, परम्परा र रितिरिवाजलाई जोडेको छन् त्यसले दर्शकलाई फिल्म हेर्न आकर्षित गर्यो । फिल्म मनोरञ्जनको साधन मात्र होइन, देशको भाषा, संकृतिलाई विश्व बजारमा पुर्याउन सक्ने शक्तिशाली माध्यम पनि हो ।
नेपाली फिल्म मेकरले पनि यो कन्नड भाषाको फिल्मबाट धेरै कुरा सिक्न आवश्यक छ । बलिउडले आफ्नो मौलिकता छाडेर विदेशी भूमिलाई महत्व दिइरहँदा साउथका फिल्मले आफ्नै देश र संकृतिलाई विश्वमाझ ल्याइरहेका छन् । यसैले, आफ्नो मौलिकता छाड्दा बलिउड पछि परेको चर्चा हुने गर्दछ ।
नेपाली फिल्मका मेकरले पनि ‘कान्तारा’बाट धेरै कुरा सिक्न आवश्यक छ । आफ्नै संकृतिलाई प्रस्तुत गर्दै आफ्नै कथा खोज्ने हो भने नेपाली फिल्मले दर्शकको माया पाउने पक्का छ । यो बर्ष चलेका अधिकांश फिल्मले पनि आफ्नै कथामा दर्शकलाई रमाउन सिकाएका छन् ।
प्रतिक्रिया