‘झिङ्गे दाउ’पछि ज्ञानेन्द्र र आँचल फेरि सहकार्य गर्दै

२ बर्ष अगाडि रिलिजमा आएको फिल्म ‘झिङ्गे दाउ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गर्यो । यो फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले कमर्सियल फिल्मको अर्थ धेरैलाई बुझाइदिए । 

यो फिल्ममा मुख्य नायिकाको रुपमा केकी अधिकारी र आँचल शर्माले काम गरेका थिए । फिल्मबाट आँचलको कामको पनि निकै तारिफ भयो । ज्ञानेन्द्र र आँचलले फिल्म ‘उपहार’मा पनि सहकार्य गर्ने कोशिश गरेका थिए । तर, त्यो संभव हुन सकेन । 

अब, फेरि चर्चित निर्देशक र अहिलेकी व्यस्त नायिकाबीच नयाँ फिल्मका लागि सहकार्यको तयारी अगाडि बढेको छ । फिल्म ‘वर एण्ड बधु’को छायांकन सेटमा भेटिएका निर्देशक देउजाले आँचलसँग नयाँ फिल्मको लागि कुरा भएको बताए ।

यता, नायिका आँचल शर्माले पनि ज्ञानेन्द्र देउजासँग नयाँ फिल्ममा सहकार्यका लागि कुरा भएको स्विकार गरिन् । तर, आँचलका अनुसार, ‘झिङ्गे दाउ २’का लागि भन्दा पनि अर्को नयाँ फिल्मका लागि उनको ज्ञानेन्द्रसँग कुरा भएको हो । 

निर्देशक देउजाको हातमा ३ वटा फिल्म छन् । उनले ‘झिँगे दाउ २, जेल ब्रेकर’ र अर्को एक फिल्म गर्ने तयारी गरिरहेका छन् । यसमध्ये कुन फिल्मको काम पहिले सकिन्छ, त्यही फिल्मलाई अगाडि छायांकन गर्ने उनको भनाई छ । 

आँचलको पनि भदौसम्म छायांकन सेड्यूल कसिलो छ । यहीकारण, ज्ञानेन्द्रसँगको उनको फिल्म भदौपछि मात्र छायांकनमा जाने वुझिएको छ ।