पलको स्पष्टिकरण–‘पुजार सार्की’मा भूमिका केही छोटो भएपनि महत्वपूर्ण छ’

फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएपछि नायक पल शाहको भूमिकालाई लिएर चर्चा भइरहेको छ । ट्रेलरमा पल शाहलाई थोरै देखाइएपछि उनको भूमिका पनि फिल्ममा कम छ कि भन्ने चर्चा भइरहेको छ । पलका फ्यानहरुले पनि भूमिका थोरै भएको भन्दै गुनासो गरिरहेका छन् । 

यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि नायक प्रदीप खड्काको कामको तारिफ बढी भएको छ । ट्रेलरमा प्रदीप नै हाबी छन् । आफ्नो भूमिकाको विषयमा गुनासो धेरै आएपछि नायक पल शाहले स्पष्टीकरण नै दिएका छन् । 

फिल्म ‘रावायण’को छायांकनमा रहेका पल शाहले लेखेका छन्–‘पुजार सार्कीमा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरुको गुनासोबारे म यो प्रष्ट पार्न चाहन्छु कि यो फिल्ममा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्वपूर्ण भूमिका भने छ । निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै श्रृजनशिल र कौतुहलता जगाइराख्ने प्रकृतिको छ ।’

उनले, फिल्ममा आफ्नो भूमिकाबारे चासो राख्ने सबैलाई जेठ १० मा फिल्म हेर्न पनि आग्रह गरेका छन् । 

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ । फिल्मले जातीयताको कथालाई उठान गरेको निर्माणपक्षले बताएको छ ।