‘कोहलपुर एक्सप्रेस’बाट सिकेर नै ‘बोक्सीको घर’ बनाउन सकेँः केकी अधिकारी

नायिका केकी अधिकारीले आफूले निर्माण गरेको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट धेरै कुरा सिकेर नै ‘बोक्सीको घर’ बनाउन सकेको बताएकी छिन् । 

‘बोक्सीको घर’ व्यापारिक रुपमा सफल भएपछि मिडियासँग कुराकानी गर्दै केकीले भनिन्–‘कोहलपुर एक्सप्रेस नबनाएको भए म बोक्सीको घरका लागि सक्षम हुन्नथेँ होला । यसको सिकाई मेरो लागि बेजोड नै भयो । जहाँ हामी चुकेका थियौं, त्यो कथा नै थियो । म आफै पनि क्रियटिभ अधिकारलाई सम्मान गर्छु । मैले आफूलाई त्यो समयमा असफल भएको महशुश गरेकी थिएँ ।’

केकीले देश तथा विदेशबाट ‘कोहलपुर एक्सप्रेस’को व्यापार सुरक्षित भएपनि आफूले त्यसलाई सफलता नमानेको बताइन् । उनले भनिन्–‘मेरो लागि कोहलपुर एक्सप्रेस एउटा पाठ थियो । मैले, यस अर्थमा चै त्यो फिल्मलाई सफल मान्छु । आफ्नो कथा खोज्नुपर्छ, आफ्नो कथा भन्दा दर्शक पनि जोडिनुहुन्छ भन्ने मैले बुझेँ ।’

पहिलो सातामा साढे ५ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको फिल्म ‘बोक्सीको घर’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा पनि फिल्मले राम्रै कमाई गर्ने छनक देखिएको छ । केकीका अनुसार, फिल्म ‘बोक्सीको घर २’का लागि पनि काम भइरहेको छ ।