‘डिग्री माइला’को ट्रेलरलाई दर्शकले रुचाए, फिल्म के होला ?

लगातार तीन वटा फिल्म असफल भएपछि केही दबाबमा परेका नायक दयाहाङ राईका लागि चैत्र ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’ले खुशी दिने छनक देखाएको छ । 

५ दिन अगाडि रिलिज भएको फिल्म ‘डिग्री माइला’को ट्रेलरलाई दर्शकले रुचाएका छन् । यो फिल्मको ट्रेलरलाई १० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ । नेपाली फिल्मको ट्रेलरले हिजोआज १० लाख भ्यूज पाउन निकै मुश्किल पर्ने गरेको छ । 

३० हजार भन्दा बढी लाइक पाएको यो ट्रेलरमा १३ सय भन्दा बढीले प्रतिक्रिया दिएका छन् । दर्शकले फिल्मको संवाद, नायक दयाहाङ राई र नायिका आँचल शर्माको जोडीलाई पनि रुचाएका छन् । 

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा समावेश संवादहरूलाई दर्शकले बढी मन पराएका छन् । 

फिल्ममा दया र आँचलको साथमा विजय बराल, माओत्से गुरुङ बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कमलमणी नेपाल लगायतका कलाकारको पनि अभिनय छ । 

नयाँ बर्षको छेकोमा रिलिज हुन लागेकाले पनि फिल्मलाई अझ बढी फाइदा हुने देखिन्छ ।