माघको ११ बाट ‘अन्जिला’ रिलिज हुने

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘अन्जिला’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म आउँदो बर्षको माघ ११ गतेबाट रिलिजमा आउने भएको छ । विशेषगरि, माघको १६ र १७ गते दुई दिन सार्वजनिक बिदा रहेकाले पनि यसको निर्माणपक्षले माघको ११ गतेलाई प्रदर्शन मिति तोकेको बुझ्न सकिन्छ । 

प्रेम कुमार श्रेष्ठको लगानीमा तयार भएको फिल्ममा विनोद अग्रवाल र राजेश बागडिया सह–निर्माताको रुपमा छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले नेपाली महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा सुब्बाको जीवन कथा भन्छ । 

यो फिल्मको नेपालसँगै युके र हङकङमा प्रिमियर पनि गरिने बताइएको छ । फिल्मको मुख्य भूमिकामा एन्जिलाले नै काम गरेकी छिन् । उनको साथमा फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ, विजय बराल, हरि खड्का लगायतका कलाकारको अभिनय छ । यो फिल्मको छायांकन इलामको आइतबारे सहित झापा र काठमाडौंमा गरिएको छ ।

निर्देशक चाम्सले आफ्नो निर्देशकीय करिअरमा यो फिल्मले नयाँ छाप छाड्ने  विश्वास व्यक्त गरे । यो फिल्मको कथा ७५ प्रतिशत एन्जिलाकै जीवनबाट प्रभावित भएपनि बायोपिक भने नभएको मिलनको भनाई छ ।

यो फिल्मले एन्जिलाको बाल्यकालदेखि सफलताको कथासम्म देखाउने निर्माणपक्षको भनाई छ । सुदिप बरालको डीओपी रहेको यो फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।