पुष्प, श्रद्धा र माइकललाई राष्ट्रपतिको सम्मान

तिलिचो ताल भन्दा पनि माथि अर्थात् ५ हजार १०५ मिटरको उचाइमा भिडियो छायांकन गरेर गीतकार डाक्टर डीआर उपाध्यायले ‘गिनिज बुक अफ वर्ल्ड’मा रेकर्ड राखेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले गीतकार उपाध्यायसँगै यो गीतको अडियो र भिडियोमा जोडिएका सर्जकहरुलाई सम्मान गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो । 

गिनिज बुकले यो गीतको अडियो तथा भिडियोसँग जोडिएका सर्जकहरुलाई ‘सहभागिता पत्र’ पठाएको हो । ‘तिलिचो ताल’ बोलको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

भिडियोमा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीले मोडलिङ गरेका छन् । शरद कुमार अधिकारीको स्वर, भेष प्रसाद श्रेष्ठको संगीत रहेको यो गीतको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ । राष्ट्रपति पौडेलले उनीहरू सबैलाई सम्मान गरेका हुन् । 

कार्यक्रममा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान मार्फत देशको नाम फरक ढंगबाट चिनाएकोमा सबैको प्रशंसा गरेका थिए ।